रौतहट, ३० कात्तिक । रौतहटको देवाहीमा सोमबार बिहान डाका समूह र प्रहरीबीचको भिडन्तमा एक जनाको मृत्यु भएको छ । गाउमा हतियारधारी समूह पसेको सूचना पाएपछि अञ्चल प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली देवाही ८ मा पुग्दा हतियारधारी डाकाको समूहसग झडप भएको हो ।
बिहान ६ बजे देवाही वडा नं. ८ मा प्रहरी देखेपछि चार जनाको समूहमा रहेका डाकाहरुले गोली चलाएका थिए । प्रहरी र डाकाबीच भएको दोहोरो गोली हानाहानमा एक डाकाको मृत्यु भएको छ भने प्रहरी तर्फ प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अन्दाजी ३० वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । उनको टाउकोमा गोली लागेको छ ।
यता खुट्टामा गोली लागेको प्रहरी जवान चौधरीलाई थप उपचारको लागि हेटौंडा पठाइएको छ । प्रहरीले घटनास्थलबाट तीन थान हतियार र गोलीहरु बरामद गरेको छ । 
घटनास्थलबाट अत्याधुनिक इन्सास राइफल एक थान, मेड इन इटाली लेखिएको पेस्तोल र त्यसको म्याग्जिन तथा एक थान कटुवा पेस्तोल बरामद गरेको रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । घटनास्थलबाट बरामद भएको इन्सास राइफल नेपालमा नेपाली सेनाले मात्रै प्रयोग गर्छ भने भारतमा सीमा सुरक्षा बल एसएसबी लगायतले प्रयोग गर्दछन् । प्रहरीले ईन्सास राइफलमा प्रयोग हुने १५ थान गोलीसमेत बरामद गरेको छ ।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.