मासिक १० हजार रुपैयाको तलब, ५ हजार बसाई मै सकिने २ हजार यताउता , बचत ३ हजार भन्दा कम । यति सानो रकमको लागि पनि हाम्रा धेरै नेपालीहरु आफ्नो परिवार, समाज र देश छाडि परदेशीएका छन् । ‘नेपालमा बसेर के नै गर्न सकिएको छ र ? न काम छ, न पैसा नै’ यसो भनि बेरोजगारी समस्याबाट पन्छिन खोज्ने धेरैका लागि तिखो उत्तर बनेका छन् विराटनगरको छिमेकी गाविस टंकि सिनवारीका एक चटपटे व्यापारी मुन्ना साह ।
टंकि सिनवारी चौकमा चटपटे व्यवसाय गर्ने मुन्नाले यहि व्यवसायको आमदानीबाट दुई सन्तानलाई बोर्डिङ्ग स्कुलमा पढाउनुको साथै २ तले बिल्डिङ्ग पनि ठड्याएका छन् । ३२ वर्षे मुन्नाले यो व्यवसायमा लागेको २२ वर्ष भई सक्यो । उनको अनुसार उनी दश वर्षको उमेर देखि नै चटपटे बेच्दै आएका हुन् । ‘घरको आर्थीक समस्याको कारण ३ कक्षा पढ्दा पढ्दै काम गर्नु पर्ने अवस्था आयो’ परिवारको पाँच जना दाजु भाई मध्येका जेठो छोरो मुन्नाले आफ्नो दुखेसो पोखे ‘सुरुमा फ्याक्ट्रीमा केहि महिना काम गरे तर आम्दानी चित्त बुझ्दो र पर्याप्त नभएकाले कुनै व्यवसाय गर्न मन लाग्यो, अनि आमालाई भनेर चटपटे बेच्न थाले’ । आँफुले पढ्न नपाएको भए पनि उनले आफ्ना ६ वर्षे छोरा राशन र ९ वर्षे छोरी रोश्नीलाई स्थानीय अंग्रेजी माध्यमका स्कुलमा पढाएका छन् । ‘छोरा भन्दा छोरी पढाईमा जान्ने छे , जिउले साथ दिए उनिहरुलाई तिनिहरुले चाहेअनुसार जति पनी पढाउने छु’ मुन्नाले हौसीएर सुनाए ।
अहिले मुन्ना विहानै उठेर चटपटेको ठेला र डब्बाहरु सफा गर्छन, २ घण्टा नियमित त्यसमा लागे पछि सामान किन्नका लागि बजार पुग्छन् । बजारबाट भुजा, कागती, खोर्सानी लगायतका सामाग्री खरिद गरिसके पछि घर आई पुरी लगायतका सामग्री तयार गर्न भान्सा पस्छन् । यस काममा उनलाई श्रीमती प्रमिलाले पनि साथ दिने गर्छिन । उनले २०५० सालमा विवाह गरी सोनापुर सुनसरीबाट भित्र्याएका प्रमिलाले उनलाई हरेक समस्यामा साथ दिएको बताउछन् उनी । ‘रोजी रोटी र कमाई राम्रैसँग चलेको छ, खासै समस्या छैन त्यसैले पनि श्रीमान्को काम प्रति केहि आपत्ती छै्रन ।’ प्रमिलाले भनिन् । करिब ६ वर्ष अघि परिवारबाट अलग्गीएर बसेका भए पनि आफुले आमा बुबा र भाईहरु प्रतिको जिम्मेवारी पुरा गरी रहेको बताए । ‘मेरो दुई भाई विदेशमा काम गर्दैछन् अनि दुई जना प्रहरीमा लागेका छन् ।’ विदेश गएका भाईहरु प्रति असन्तुष्टि जनाउदै उनी भन्छन् ‘फर्केर आउन भनी रहेको छु , सुन्दैनन् ।’ उनी काम सानो ठुलो नभनी मिहिनेत गरे यहि पनि विदेश भन्दा बढि कमाउन सकिने कुरा बताउछन् । दैनिक १४ घण्टा चटपटे व्यवसायमा लगाउने उनी अहिले मासिक ३० हजार भन्दा बढि आम्दानी गर्ने बताउछन् । ‘घरायसी खर्च कटाएर मासिक २० हजार बढि बचत गर्ने गरेको छु । यसरी दशौ वर्ष मिहिनेत गरी अहिले घर बनाएको हुँ । अहिलेसम्म पच्चिस लाख यो घरमा खर्च गरिसँके , पुरै निर्माण गर्न ३० लाख लाग्ला । ’
सप्रेको व्यापार, राम्रै आम्दानी विच पनि उनलाई समस्याले भने छाडेको छैन ‘केहि दिन अघि घर निर्माणका लागि राखेको ५० हजारको छड चोरी भयो ’ आफ्नो पसिनाप्रतिको मायामा उनले सुनाए ‘स्वास्थ्य पनि ठिक छैन, केहि समय अघि विरामी पर्दा पनि ७० हजार भन्दा बढि खर्च भयो । विरामी भएकाले ठेला तान्न समस्या हुन्छ ।’
‘मेरा लागि त मेरो ग्राहक सबै देवता हुन, तिनीहरुको मायाले नै आज मुन्ना चटपटेवाला भनेर चिनिन पाएको छु ।’ आफ्नो छुट्टै अस्तित्व प्रति गर्व व्यक्त गर्छन उनी । हुन पनि आधा दर्जन बढि चटपटे व्यापारीले व्यापार गर्ने टंकी सिनवारी चौकमा मुन्ना चटपटेवाला भनी धेरै उनको ठेला मै झुम्मिन्छन् । किन त ग्राहकले तपाईलाई नै खोजेको ? भन्ने प्रश्नमा उनी भन्छन् ‘मुन्नाले ग्राहकसँग मिठो बोल्छ, कहिले काँही ग्राहकले भने जस्तो चटपटे नभए फेरी पनि बनाएर दिने गरेको छु , स्थानिय भएकैले पनि धेरैले माया गर्नु हुन्छ’ । ‘तर जस्तो भए पनि अहिले पहिलेको जस्तो व्यवसाय गर्न सजिलो भने छैन’ उनी भन्छन् ‘सामान महङ्गो भएको छ, फाइदा कम हुन्छ अझ प्रतिस्पर्धा पनि बढेको छ’ । ५–६ वर्ष अघिसम्म पनि टंकि चौकमा एक्लै चटपटे बेच्ने मुन्नाले अहिले आफ्नो व्यवसाय झण्डै आधा दर्जन व्यापारीसँग बाड्नु परेको छ । प्रतिस्पर्धा बढेकोमा भने उनलाई कुनै चिन्ता छैन भन्छन् ‘सबैले गरी खाउन्, मिहिनेत गर्न लजाउनु हुन्न’ ।
जागीर नपाई बेरोजगार भई बसेका युवालाई उनी भन्छन् ‘ मैले जस्तो चटपटे नै बेच्नु पर्छ भन्ने छैन तर श्रमलाई हेला नगरी कुनै पनि काममा आफु लाग्ने हो भने पैसा कमाउन असम्भव छैन , कमाउन कै लागी पनि विदेश जानु पर्दैन ।' 
Source:OurBiratnagar

Chatpate bechera 30 lakh ko Ghar,

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.