९ असोज, काठमाडौं । एघार महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । ओलीको त्यो घोषणासँगै सरकारका सरोकारवाला निकायहरु एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजना बनाउन थाले ।

उर्जा मन्त्रालयले फास्ट ट्रयाकमा काम गरेर एक वर्षभित्र १ सय ५० मेगावाट विजुली उत्पादन गरेरै छाड्ने लक्ष्य सार्वजानिक गर्‍यो । जसअनुसार ०७३ असोज मसान्तसम्ममा राष्ट्रिय प्रसारणलाइनमा १ सय ५० मेगावाट विजुली जोडिइसक्नुपथ्र्यो ।
तर, लक्ष्यको आधा पनि विजुली जोडिएन ।
एक वर्षको अवधिमा जम्मा ८० मेगावाट विजुली मात्रै उत्पादन भएको छ । ०७३ असारमा ३० मेगावाट विजुली उत्पादन भइसकेको छ भने सोमबार माथिल्लो मस्याङदीबाट उत्पादित ५० मेगावाट विजुली थपिँदैछ ।
भारतीय नाकाबन्दीका कारण इन्धन संकट लगायतका समस्या आइपरेकाले तोकिएको समयमै लक्ष्यअनुसार विजुली उत्पादन गर्न नसकिएको उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे स्वीकार गर्छन् ।
‘भारतीय नाकाबन्दीको असरका कारण असोज मसान्तसम्ममा लक्ष्यअनुसार विजुली उत्पादन गर्न सकिएन’ घिमिरेले अनलाइनखबरसँग भने -‘तर आयोजनाकोहरुको हालसम्मको प्रगति हेर्दा पुस मसान्तमा भने लक्ष्यअनुसारको उत्पादन हुने देखिन्छ ।’
सरकारले लोडसेडिङ न्यूनिकरणलाई जोड दिँदै आयोजनाहरुको काम धमाधम अघि बढाइरहेको उनको दाबी छ । आगामी चार महिनाभित्र राष्ट्रिय प्रसारणलाइनमा थप ९० मेगावाट विजुली जोडिने घिमिरे बताउँछन् ।
पुसअघि कुन आयोजनाबाट कति बिजुली ?
घिमिरेका अनुसार कास्कीको माथिल्लो मादी आयोजनाबाट २५ मेगावाट, ताप्लेजुङको हेवाखोलाबाट १४.९ मेगावाटको, मुस्ताङको थापा खोलाबाट १४ मेगावाट, ताप्लेजुङको माथिल्लो माई सी बाट १० मेगावाट र ललितपुरको तुमुङ थोस्मे खोलाबाट ६ मेगावाट गरी ७० मेगावाट विजुली पुस सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिइसक्ने छ ।
भारतबाट नल्याए लोडसेडिङ नघट्ने
सरकारले भनेअनुसार नै आगामी पुस सम्ममा विजुली उत्पादन भएपनि त्यसले लोडुसेडिङ न्यूनिकरणमा कुनै भूमिका नखेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेश काफ्ले बताउँछन् ।
‘डेढ सय मेगावाट जडित क्षमता थपिँदा पनि आगामी हिउँदमा कुल ३ सय मेगावाट विजुली मात्रै उत्पादन हुन्छ,’ उनले भने- ‘जबकी आगामी हउिँदमा हाम्रो कुल विजुलीको माग १४ सय मेगावाट पुग्छ ।’
काफ्लेका अनुसार कुल १ सय ५० मेगावाट उत्पादन क्षमता भएपनि हिउँदमा ती आयोजनाहरुबाट एक चौथाई अर्थात् ३५ देखि ४० मेगावाट मात्रै विजुली उत्पादन हुन्छ । यसअघि कुल ८ सय ५० मेगावाट विद्युत जोर्डिको भएपनि हिउँदमा २ सय ७० देखि ३ सय मेगावाट विद्युत मात्रै उत्पादन हुँदै आएको थियो ।
सरकारले यसअघि पनि हिउँद याममा २ सय ७० देखि ३ सय मेगावाट विजुली भारतबाट आयात गर्दै आएको थियो । यो वर्ष त्यसमा पनि ३ सय मेगावाट थपेर भारतबाट कुल ६ सय मेगावाट विजुली आयात गर्ने सरकारी लक्ष्य छ ।
‘यो हिउँदसम्ममा भारतबाट थप ३ सय मेगावाट विजुली ल्याएर लोडसेडिङ कम गर्ने सरकारको तयारी छ,’ घिमिररेले भने – ‘यसअघि नै भारतबाट ३ सय मेगावाट आयात हुँदै आएकाले यो हिउँदामा भारतबाट कुल ६ सय मेगावाट विजुली आयात गर्छौं ।’
भारतबाट विजुली किन्न के के गर्नुपर्छ ?
सरकारले भारतबाट थप ३ सय मेगावाट विजुली किन्ने लक्ष्य राखेपछि सो अनुसारको तयार भने गरेको छैन । भारतबाट विजुली ल्याउनका मुख्यरुपमा तीन वटा काम पुरा गर्नुपर्ने काफ्ले बताउँछन् ।
हाल १३२ केभी क्षमताको ढल्केबर प्रसारणलाइन्लाई स्तरोन्नति गरी २२० केभीए क्षमताको बनाउने काम भइरहेको छ । पुससम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि त्यसको प्रगति भने सन्तोषजनक छैन ।
त्यसैगरी, ढल्केबर सबस्टेशन लाइन स्तरोन्नति गरेरमात्रै भारतबाट थप विजुली ल्याउन सकिँदैन, त्यसका लागि २२० केभी क्षमताको खिम्ती-ढल्केबर प्रसारणलाइन, हेटौंडा-ढल्ेकबर प्रसारणलाइन र हेटौंडा मातातिर्थ प्रसारणलाइनको स्तरोन्नति पनि गर्नुपर्ने हुन्छ ।
प्रसारणलाइन स्तरोन्तिको काम अघि बढेपनि पुसअघि नै निर्माण सम्पन्न हुन भने निकै कठिन भएकाले यो हिउँदमा पनि सर्वसाधारणले विगतका वर्षहरुमा जस्तै लोडसेडिङ भोग्नुपर्ने अवस्था देखिएको काफ्लेको भनाई छ ।
Source: Onlinekhabar

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.